कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ : सञ्चारमन्त्री

काठमाडौं, २१ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शनिबार बोल्दै सञ्चारमन्त्री कार्कीले संघीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका हुन् ।

“निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो । व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु,” उनले भने । सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्त्वकांक्षालाई थाती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह समेत गरे । समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com