ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

बाग्लुङ, २२ फागुन । नेपाल टेलिकमले ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । २०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको हो ।

ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ-एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । यसभन्दा सोलार सेटमार्फत् टावर सञ्चालनमा थियो । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो । अब भने विद्युत जडान भएसँगै समस्या हटेको छ ।

बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरि आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका-९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए ।

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाईंमा अवस्थित पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका-८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com