सत्ता गठबन्धन तोड्न भयंकर षडयन्त्र भइरहेका छन्: अध्यक्ष नेपाल

काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको दावी गर्नुभएको छ ।

काठमाडौँमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको भनाइ छ । अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् । ‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो, सुरुमा (एमसीसी) संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो । एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको दावी गर्नुभयो । एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो । केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com