कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट ८ महिनापछि पारित

सुर्खेत, २५ फागुन । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित भएको छ ।

बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी आर्थिक बर्ष २०७८-०७९ को बजेट पारित गरिएको हो । विनियोजन अध्यादेश २०७८ र आर्थिक अध्यादेश २०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतले पारित गरेका छन् ।

तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमाथि छलफल नै हुन सकेको थिएन् । अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com