एमालेमा एकता छ, हामीमा छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको बताएका छन् ।

आज वीरगन्ज पुगेर प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको बताए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए । उनले कार्यकर्ताहरूलाई ०७४ सालमा कांग्रेस एक्लै चुनाव लड्दाको परिणाम सम्झन पनि निर्देशन दिए ।

उनले भने, ‘विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौँ, त्यो सशक्त छ । उनीहरूमा एकता छ । हाम्रो पार्टीमा एकता हुँदैन । त्यसकारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ ।’

उनले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । “साथीहरूले बोली, व्यवहारबाट गठबन्धनका साथीहरूलाई कुनै पनि किसिमको चिसो पर्नेदेखि लिएर बेवास्ता गर्ने कुरा छैन । हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,” उनले भने, “तपाईंहरूलाई थाहा छ, हामी एक्लै चुनाव लड्दा अवस्था कस्तो थियो । हामी हारेका थियौँ । अहिले गठबन्धनको सरकार भएको कारणले मिलेर चुनाव लडे स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनाउन हामी सक्छौँ ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com