‘संस्कृति झल्कने, आधुनिकता टल्कने’ मोडालिटीमा भक्तपुरको विकास: नेता बस्नेत
भक्तपुर, २७ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको योजना अनुसार जिल्लाको विकास संस्कृति झल्कने तथा आधुनिकता टल्कने मोडालिटीमा भएको दावी गर्नुभएको छ ।
आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको बालमैत्री नगर घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले जिल्लाको विकास जनताको चाहना, आवश्यकता, पर्यटकीय, मौलिकता लगायतमा आधारित रहेर भइरहेको दावी गर्नुभयो । नरप्रमुख एक बैद्धिक नेता भएको हैसियतमा पनि नगरपालिका भित्रका विकासका कार्यक्रमहरु जनमुखी भएको दावी गर्दै नेता बस्नेतले विकास निर्माणका कार्यहरु गर्दा हार्डवेयरको पक्षमात्र नभई सफ्टवेयरको कार्यलाई समेत विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । नगरप्रमुख सोम मिश्रले नगरपालिका क्षेत्रभित्रको आयोजनामा हार्डवेयर तथा सफ्टवेयर दुवैलाई सन्तुलित तवरले अगाडी बढाएकै कारण नगरपालिकामा ऐतिहासिक विकास भएको बताउनुभयो । भक्तपुरमा सडक, ढल, शिक्षा, स्वास्थ्य, पर्यटकीय, पूर्वाधारका अन्य भौतिक विकासको साथ साथै सांस्कृतिक परम्परा झल्कने प्रकारका मठमन्दिर निर्माण, पुनः निर्माणलगायतका कुराहरुमा समेत योजनावद्ध रुपमा विकास गर्दै अगाडी बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विकास निर्माणमा अधिकांश स्थानीय तहहरुले हार्डवेयरको बारेमा विशेष योजना अगाडी बढाउने तर सफ्टवेयरका कार्यहरुलाई प्राथमिकता नदिदाँ अपेक्षाकृत रुपमा विकास हुन नसक्ने समस्या भएता पनि चाँगुनारायण नगरपालिकामा भने एक बौद्धिक व्यक्ति नगरप्रमुख भएकाले त्यस्तो समस्या उत्पन्न भएन । नगरपालिकाले केपी ओलीको योजना अनुसार एमालेले नेतृत्व गरेको भक्तपुरमा संस्कृति झल्कने, आधुनिकता टल्कने विकासको मोडालिटीमा नगरपालिकाले व्यवहारमा लागु गरेको छ । यो कार्य सवै स्थानीय तहरुले ग्रहण गर्न योग्य छ ।’
जिल्लामा भौतिक विकास निर्माणका कार्यहरु मात्र गरेको नभई धार्मिक, सांस्कृतिक, पर्यटकीयलगायतका क्षेत्रहरुलाई समेत विशेष ध्यान दिईएको उल्लेख गर्दै उहाँले नगरपालिकाले विकासको आधुनिकतालाई पच्छ्याएको मात्र नभई नविन प्रणालीको शुरुवात गरेको उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, जेष्ठ नागरिक तथा महिलाको लागि ऐतिहासिक योजनाहरु नगरपालिकाले लागु गरेको उल्लेख गर्दै उहाँले संघीयताको कल्पना अनुसार चाँगुनारायण नगरपालिका विकास र समृद्धिको अभियानमा पुगेको बताउनुभयो । नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गर्न संघीय सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जाल र युट्युवरको माध्यमबाट आफैं सर्वोत्कृष्ट नगपालिका घोषणा गर्ने कार्य गर्नु नहुने बताउनुभयो । चाँगुनारायण नगरपालिकामा नै नेपालकै सवैभन्दा ठूलो स्मार्ट सिट, आधुनिक वीर अस्पताल, विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर, नगरकोटमा पर्यटकीय गन्तव्यको रुपमा विकास भएको उहाँले स्पष्ट पार्नुभयो ।