अनलाईनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर, १ चैत । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका ४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो ।

गौतमले आफू विदेशी नागरिक भएको बताउँदै सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत ठगी गरेको आरोप छ । गौतमले पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी कर रकम तिर्नुपर्छ भनि विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता नम्बर र आईएमईको माध्यमबाट २९ लाख ४० हजार रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको आरोप छ ।

गौतमले डाक्टर जोहन लरेन्स नामक फेसबुक र ह्वाट्सएप एकाउन्ट खोलेर पीडितलाई ९० लाखको चिठा परेको, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको भन्ने म्यासेज पठाई केहिसमय पछि फेरि प्रताप राना सिंह नाम बताएर पीडितलाई ह्वाट्सएपमा फोन र म्यासेज गर्ने गरेको प्रहरीले जनाएको छ । आरोपितलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाईएको महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com