होलीमा इच्छाविपरीत रङ दले अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौँ, १ चैत । होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने छ । होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइए प्रहरी कानुनानुसार अगाडि बढ्छ ।

काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् । होलीमा काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् । यसबाहेक रिजर्भ फोर्स समेत हुनेछ । जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com