पर्साका जनप्रतिनिधिसहित ५५० जना एमालेमा प्रवेश

भक्तपुर, १ चैत । विगतमा एमालेलाई प्रवेश निषेध भएको तराई (मधेष) प्रदेशमा पछिल्लो समय भने एमालेमय हुँदै गएको छ । नेपालको विकास र समृद्धिको यात्रालाई जनचाहना र आवश्यकता अनुसारको गतिलाई नेतृत्व गर्ने पार्टी एमालेको विकल्प नभएकाले एमाले प्रवेश गरी एमालेको घोसित नीति तथा सिद्धान्तलाई दृढताका साथ अगाडी बढाई काँधमा काँध मिलाई आगामी यात्रा गर्ने उद्घोषका साथ पर्सा जिल्लाबाट भक्तपुर आएर ५५० जना एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौँ–पर्सा समन्वय कमिटीको आयोजना तथा राष्ट्रिय युवा संघ जिल्ला कमिटी भक्तपुरको व्यवस्थापनमा आज भक्तपुरमा भएको कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्तासहित ५५० जना एमालेमा प्रवेश गरेका हुन । पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गर्ने क्रममा एउटा समूह काठमाडौँ आइपुगेको छ । पोखरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहान नेतृत्वको एउटा समूह मंगलवार ५५० जना एमालेमा प्रवेश गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रमको लागि पर्साबाट ८ वटा गाडीमा नवप्रवेशीहरु एमालेका अध्यक्ष ओलीको गृहजिल्लामा नै आएर पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश विकासमा एमालेको विकल्प नभएको दावी गर्नुभयो । तराईका जिल्लाहरुमा एमाले नेतृत्वको सरकार भएको समयमा जनताले अपेक्षा गरेभन्दा बढी साना तथा ठूला आयोजनाहरु सञ्चालन गरेको उल्लेख गर्दै उहाँले नेपाललाई आधुनिक कृषि प्रणालीको विकास गर्नुको अर्को विकल्प नभएको बताउनुभयो । कृषि क्षेत्रलाई विकास गरी आयात भन्दा निर्यातलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले देशको अर्थव्यवस्थालाई सुधार गर्न आयातलाई घटाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले केहीलाई प्रवेश गराउनुभएको थियो भने बाँकी नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरा सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले खादा तथा अविर लगाएर एमालेमा स्वागत गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com