न्यु बुटवल २२० केभी सबस्टेसनको उद्घाटन

सुनवल, ४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यु बुटवल सबस्टेसनको उद्घाटन गरेकी छन् ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरणका लागि न्यु बुटवल सबस्टेसनको निर्माण गरिएको हो । मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत् छिमेकी मुलुकहरूमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रूपमा अगाडि बढिरहेको बताइन् । रुस र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै उनले सस्तोमा उपलब्ध विद्युत्को खपत बढाउन आग्रह गरिन् ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत दिने अनुदानबाट न्यु बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्नेछ । एमसीसीले तनहुँको दमौलीबाट न्यु बुटवलसम्म ४०० केभी प्रसारणलाइन पनि निर्माण गर्नेछ । बर्दबाट–न्यु बुटवल २२० केभी र न्यु बुटवल–कोहलपुर (बाँके) ४०० केभी प्रसारणलाइन निर्माण हुँदै छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com