कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको: अध्यक्ष ओली

काठमाडौँ, ७ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको बताएका छन् ।

आज पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनका सन्दर्भमा प्रकट भएका लक्षणहरु स्वस्थ नभएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’ ‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन ? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन ?’ओलीको प्रश्न छ ।

उनले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गरे ।‘गठबन्धनसँग परामर्श हुने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने तरिका ठिक भएन’, ओलीको भनाइ छ । उनले अझैपनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको दावी समेत गरे । ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने, ‘दुई जना आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन् ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com