निर्वाचन आयोगमा ५८ दलले बुझाए विवरण

काठमाडौँ, ८ चैत । निर्वाचन आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेपछि ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण पेस गरेका छन्। सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ वटा साना दलले जिल्ला समितिको विवरण पेस गरेको जानकारी गराएका थिए।

आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ भित्र पेस गर्न पत्राचार गरेको थियो।

आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहाल रहेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान कानुनी रूपमा समेत उचित रहेको जनाउँदै प्रवक्ता पौडेलले भने, ‘निर्वाचन आयोग संविधानबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयमुक्त वातावरणमा सञ्चालन गर्ने मूल दायित्व भएको संस्था हो। निर्वाचनमा उम्मेदवारहरूलाई बराबरको मैदान उपलब्ध गराउन सो प्रावधान राखिएको हो।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com