राष्ट्रपति भण्डारीद्वारा पानीका स्रोतको संरक्षण गर्न आह्वान
काठमाडौँ, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्न आह्वान गरेकी छन् ।
आज राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै भूमिगत पानी पुनःभरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा रोप्ने कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्दै द्रूत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनःभरण कार्यलाई प्रोत्साहन गर्न राष्ट्रपति भण्डारीले सबैमा आह्वान पनि गरेकी हुन ।
सन्देशमा भनिएको छ, ‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’ राष्ट्रपति भण्डारीबाट आज जारी सन्देशमा भनिएको छ, ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।, ‘बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवद्र्धन गर्नुपर्दछ ।’