सांसद साहमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ, १३ चैत । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरि कानुनी कारवाही गर्ने बताउनुभएको छ ।

शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाउनुभयो । मन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।उहाँले भन्नुभयो, ‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ । छानबिनमा दोषीमाथि कारबाही हुन्छ ।’

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ । फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com