एमाले क्विन्टलको ढक हो भने गठबन्धन एक–एक किलोका ढक हुन् : अध्यक्ष ओली

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन भनेको एक–एक किलोका ढकहो भने एमाले क्विन्टलको ढक रहेको बताएका छन ।

भक्तपुरको सूर्यविनायकमा  हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई गठबन्धनले प्रभाव नपार्ने बताए ।

उनले भने, ‘यदी एउटा तराजुमा एक–एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो । अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’

उनले सत्ता गठबन्धनका दलहरुलाई लोभी पापी भन्दै उनीहरुबीच गठबन्धन गर्न सहज नभएको टिप्पणी गरेका हुन् । गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’ उनले भने, ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि ।’

अध्यक्ष ओलीले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गरे । ‘एक हप्ता राखे पनि के हुन्छ र मनोनयन नै हुने होला’ ओलीले भने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com