भक्तपुरमा एकै पटक २२ हजार युवा एमालेमा प्रवेश

भक्तपुर, १६ चैत । पछिल्लो समय देशभर विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहर छाएको छ । विगत तीन महिना अघिदेखी एमालेले देशभर पार्टी प्रवेशको अभियान चलाइरहेको छ । यसै क्रममा आज भक्तपुरमा देशका विभिन्न जिल्लाबाट कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपालगायतका दलहरु परित्याग गरी करिव २२ हजार नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमालेको केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले दुई अर्वको लागतमा ५० रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याउनुभएको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन कार्यक्रममा नै २२ युवाहरु एमालेमा प्रवेश गरेका हुन । २२ सय स्टलमा करिव ४४ हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिएको सञ्चालक प्रसाईले जानकारी दिनुभयो । व्यवसायी प्रसाईको विशेष पहलमा देशभरका युवाहरु एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका तथा खादा लगाएर एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्रको बर्हिगमित लडाकु (पूर्वजनमुक्ति सेना)को देशभरको सिङ्गो कमिटी नै एमालेमा समाहित भएको छ । बर्हिगमित लडाकुका पूर्वमहासचिव विद्यालाल थामीको नेतृत्वमा एक विज्ञप्ती जारी गर्दै संगठन नै एमालेमा समाहित भएको घोषणा गरिएको छ । २२ हजार नवप्रवेशीको फोटो सहितको फारम भरी अध्यक्ष केपी ओलीलाई उक्त विवरण सहितको दस्तावेज समेत हस्तान्तरण गरिएको छ । विज्ञप्ती भने एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्लाई बुझाइएको छ ।

पार्टी प्रवेश गर्ने क्रममा नवप्रवेशी पूर्वमहासचिव थामीले माओवादीले योगदानको मूल्याङ्कन नगरेको आरोप लगाउनुभयो । पूर्वमाओवादीका नेता तथा कार्यकर्तालाई मात्र नभई जनताको परिवर्तन प्रतिको चाहनामा समेत घात गरेको उल्लेख गर्दै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको मतियार भएको आरोप लगाउनुभयो । प्रचण्डले आफ्नो शक्तिमा केन्द्रीत रही आफन्तवादको समृद्धिमा लागेर माओवादी लडाकुहरुको सपनालाई चकनाचुर बनाई प्रयोगको साधनमात्र बनाएको आक्रोस व्यक्त गर्दै उहाँले कांग्रेसको पैतालामा माओवादको सिद्धान्तलाई बुझाएकाले अबको मुलुकको समृद्धिको यात्रामा एमालेको विकल्प नभएको उल्लेख गर्दै एमालेमा प्रवेश गरेको बताउनुभयो ।

नवप्रवेशीलाई अध्यक्ष ओली, उपाध्यक्ष नेम्वाङ, एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, केन्द्रीय सदस्य प्रसाई, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य किरण पौडेल, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमती प्रदेश सांसद शसी जंग थापा, सरस्वती बाटी, जिल्ला उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, मध्यपुर थिमी नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, जिल्ला समन्वय समितका प्रमुख नवराज गेलाललगायतका एमालेका नेताहरुले नवप्रवेशीलाई खादा तथा अविर लगाएर स्वागत गर्नुभयो ।

स्वागत गर्दै अध्यक्ष ओली, नेम्वाङ तथा नेता बस्नेतले नवप्रवेशीलाई याग्यता, क्षमता, दक्षता तथा आवश्यकताका आधारमा संगठित गरी उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले एमालेमा प्रवेश गरेका जो कोहीलाई जिम्मेवारबाट टाढा राख्न नसकिने उल्लेख गर्दै माओवादीको जस्तो झुट आश्वासन दिने नभई नतिजामुखी काम गरेर देखाउने समेत उद्घोष गर्नुभयो । नेता बस्नेतले बहिर्गमति लडाकुलाई राष्ट्रिय युवा संघका विभिन्न कमिटीहरुमा आवद्ध गराई मुलुकको नेतृत्व गर्ने जिम्मेवारी दिने समेत प्रतिवद्धता जनाउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com