नेपालको अर्थतन्त्र गम्भीर स्थितिमा छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घाटनातिर जानबाट रोक्ने बाटो खोजिरहेको पनि बताए ।

उनले भने, “अर्थतन्त्र गम्भीर स्थितिमा छ । तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र, उद्योगी–व्यवसायीहरूको बारेमा हामीले गम्भीर चर्चा गठबन्धनभित्र पनि गर्‍यौँ । यो विषयमा बृहत्तर छलफल आयोजना गरेर एउटा साझा निष्कर्ष निकालेर अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमति पनि भएको छ, “छिट्टै व्यापक विचारविमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । ”

उनले सञ्चारमाध्यममा आएजस्तो श्रीलंकाको अवस्थामा नेपाल नपुगेको पनि बताए । “मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलंकाले जे समस्या भोगेको छ, कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ । त्यो ठाउँमा नेपाल होइन,” उनले भने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com