तीन समिति तत्काल गठन गर्न कांग्रेसको निर्देशन

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसले तीन वटा समितिहरु तत्काल गठन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले विधानअनुसार गठन गर्नुपर्ने सबै समिति गठन गर्न निर्देशन दिएको हो । जसमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति, अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिएको हो । तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न कांग्रेसले तल्ला समितिलाई निर्देशन दिएको छ । यी समितिहरू विधानअनुसार पार्टी महाधिवेशन भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने हो । तर स्थानीय चुनाव मुखैमा आएकोले पार्टी चलायमान बनाउन विधानअनुसारका सबै समिति गठन गर्न कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले केन्द्रमा कार्यसम्पादन समिति गठन गरे पनि संसदीय समिति र अनुशासन समिति गठन गरेको छैन । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणबाट फर्केपछि मात्रै ती समितिहरू गठन गरिने कांग्रेसले जनाएको छ । हालै बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचलान र प्रचारप्रसार समिति मात्रै गठन गरेर अनुशासन र संसदीय समिति गठनलाई पछि धकेलेको थियो ।

कांग्रेसले प्रदेश सभापतिहरूको नेतृत्वमा पनि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । कांग्रेसले स्थानीय आवश्यकता हेरेर सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको थियो । वैशाख ३० मा हुने स्थानीय चुनावमा अधिकांश ठाउँ एक्लै जित्ने देखिए पनि गठबन्धनलाई सँगै लैजाने कांग्रेस केन्द्रीय समितिले निष्कर्ष निकालेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com