अब ट्राफिक प्रहरीले डायरी र कलम अनिवार्य बोक्नुपर्ने

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकामा खटिने ट्राफिक प्रहरीले डिउटीको समयमा डायरी र कलम अनिवार्य रूपमा साथमा बोक्नु पर्ने भएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षितर उत्तरदायी अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एक कार्यक्रमकाबीच काठमाडौँ उपत्यकामा कार्यरत झन्डै १ हजार ६०० जना ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् ।

ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामग्री वितरण गरिएको एसएसपी जोशीले बताए । डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com