राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको उद्घाटन

काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ ।

नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो । तर सामेबार उद्घाटन कार्यक्रम राखियो, जहाँ राष्ट्रपति भण्डारी स्वयं सहभागी भएकी छन् ।

राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णाेद्वार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूको प्रशंसा गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरेकी थिइन् । निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ । कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com