राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

तुलसीपुर, २ बैशाख । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा  कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।”

अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो ।

असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो । अस्पताल ६० शय्याको छ । यसमा आईसीयू, एनआईसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । “कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ”, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।” रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com