बुद्धकृष्ण श्रेष्ठले ९ औं पटक छेडे जिब्रो

भक्तपुर, २ बैशाख । भक्तपुर बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् ।

मध्यपुर थिमि नगरपालिका–२ बोडेमा आज जिब्रो छेड्ने जात्रामा उनले नवौं पटक जिब्रो छेडाएका हुन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् । जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ ।

जिब्रो छेडे लगत्तै बुद्धकृष्णले  महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेका थिए । त्यसपछि जात्राको समापन भएको थियो । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com