निर्वाचनको तयारी तीव्र: मतपत्र छपाइ कार्य लगभग सकियो

काठमाडौँ, ६ बैशाख ।  यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य लगभग सकिएको जानकारी दिँदै भन्नुभयो–‘१ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।’

निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिँदै उहाँले स्थानीय तहको निर्वाचनका लागि वैदेशिक सहयोग प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोगले सहयोगका लागि आह्वान गरेको थियो । तर, हालसम्म सहयोगको कुनै आश्वासन वा संकेत प्राप्त भएको छैन ।आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा सबै दाताहरूसँग जुम मिटिङ गरेको थियो । तर, जुम मिटिङमा त्यति उत्साहजनक प्रतिबद्धता प्राप्त भएन ।’

आयोगले सामानको सूची उल्लेख नगरी वैदेशिक सहयोगको आह्वान गरेको जानकारी दिँदै प्रवक्ता पौडेलले भन्नुभयो– ‘उहाँहरूले नगद सहयोग गर्न पनि सक्नुहुन्छ । मतपेटिका सहयोग गर्न सक्नुहुन्छ । स्वस्तिक छाप वा जसले जे सक्छ त्यही सहयोग गर्न सक्नुहुन्छ । निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री सबैलाई थाहा छ । रबरम्याट पनि सहयोग गर्न सक्नुहुन्छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com