महिला आयोगको समन्वय: तेल खन्याई आगो सल्काएको घाइते चौधरीको उपचार हुने

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय महिला आयोगको समन्वयमा करिब एक महिनादेखि अलपत्र विरामी अस्मिता लामा चौधरीको उपचारको प्रक्रिया अगाडि बढ्ने भएको छ । श्रीमान प्रविण चौधरीले चैत ११ गते राती तारपिनको तेल खन्याई आगो सल्काएर घाइते हुनुभएकी चौधरीलाई प्रहरीको समन्वयमा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । बुढानिलकण्ठ नगरपालिका बालुवाखानी १० आकासेधारा कपनमा रातको करिब ९ बजे तरकारी नमिठो पकाएको बहानामा श्रीमान प्रविण चौधरीले तारपिनको तेल खन्याएर जलाएको प्रहरीले जनाएको छ ।

श्रीमान चौधरी पक्राउ परेको र उहाँका कोही पनि आफन्त अस्पतालको सम्पर्कमा नगएपछि सल्यक्रियाका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने व्यक्ति र कुरूवाको समेत अभाव भएपछि सामान्य उपचार गरी राखिएको थियो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले तारपिनको तेलले जलेको, घरेलु हिंसामा परेकी महिलाको उपचारमा समस्या भइरहेको जानकारी आयोगमा आएपछि सोमवार आयोगको टोलीले सो अस्पतालमा अनुगमन गरी उपचार प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले आयोगको टोलीले सो अस्पतालमा पुगेर विरामी, महानगरीय प्रहरी प्रभाग साँखु, अभियन्ता उज्वल विक्रम थापा र अस्पताल प्रशासनसँग समन्वय गरी पीडितको परिवारको सदस्यको खोजी गरी उपचार प्रक्रिया अगाडि बढेको बताउनुभयो । विरामी चौधरीका भाइ सुनिल लामा सम्पर्कमा आएको आयोगले जनाएको छ । आयोग र महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले विरामी अस्मिता लामा चौधरीलाई उपचारका लागि सो अस्पताल ल्याएदेखि नै आफन्त सम्पर्कमा नआएकोले प्रभागकै तर्फबाट महिला प्रहरी एकजना खटाइएको जानकारी दिनुभयो । हाल चौधरीलाई सो प्रभागका हवल्दार सावित्री गुरूङले सहयोग गरिरहनुभएको छ ।

सो अस्पतालका मेडिकल निर्देशक डा.सन्तोष विक्रम भण्डारीले विरामी चौधरीको कम्तिमा चारवटा सल्यक्रिया गर्नुपर्ने अवस्था छ, त्यसका लागि करिब चारलाख रूपियाँ अनुमानित रकम लाग्ने बताउनुभयो । सल्यक्रियापछि विरामीलाई थप हेरचाहको आवश्यकता पर्ने, आर्थिक पाटो पनि जोडिने र सहमतीपत्रमा हस्ताक्षर नलिई सल्यक्रिया गर्न नियमले पनि नमिल्ने भएकोले विरामी चौधरीको आफन्तको खोजीका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको बताउनुभयो । जलेका विरामीहरूको उपचारका लागि विगत पन्ध्र वर्षदेखि खटिदै आएका अभियन्ता उज्ज्वल विक्रम थापाले एसिड, तारपिनको तेल, आगो, ग्याँसलगायतका प्रज्ज्वलनसिल पदार्थले पोलेका विरामीको उपचारमा धेरै खर्च लाग्ने भएकोले विरामीको आफन्त सम्पर्कमा नआउने समस्या धेरै रहेको बताउनुभयो ।

उहाँले अन्य अवस्थामा पनि वेवारिसे विरामीको जीवन बचाउने उपायका लागि स्वास्थ्य क्षेत्रमा लागु हुने नीति नियम विरामीमैत्री बनाउनुपर्ने र असहायले पनि बाँच्न पाउने अधिकारका रक्षाका लागि राज्यले आर्थिक कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com