नेकपा एसको घोषणापत्र: शिक्षा, स्वास्थ्य र बिजुली निःशुल्क

काठमाडौँ, ७ बैशाख । एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले जनतालाई शिक्षा, स्वास्थ्य र बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। नेकपा एसले स्थानीय तह निर्वाचन सन्दर्भमा मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता जनाएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्रमा आफूहरूले गर्न सकिने काम मात्रै अघि सारेको र हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्न यसले मूल नीतिबारे प्रस्ट पार्ने बताए। उनले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा निःशुल्क स्वास्थ्य उपचार सेवालाई राखिने बताए। नेपालका अनुसार यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन र साधनस्रोत वितरणमा संघ र प्रदेश सरकारहरूसँग सहकार्य गरिनेछ।

घोषणापत्रमा जटिल खालका शल्यक्रिया (मुटु , मिर्गौला, कलेजो, फोक्सो र टाउकाको भित्री भाग) बाहेकका उपचार स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने उल्लेख छ। ‘स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सीपको संरक्षण गर्नुका साथै स्थानीयस्तरमा आधुनिक स्वास्थ्य सेवा पुर्‍याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुनेछ। पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने र यसबाट एकातिर दूरदराजका जनताले घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिनेछ,’ घोषणापत्रमा छ।

त्यसैगरी जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोलटोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गर्ने, सामुदायिक नर्सिङ सेवाअन्तर्गत जनताको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने, उपचारका लागि अस्पताल पुर्‍याउने सेवा उपलब्ध गराउने तथा सुविधासम्पन्न बर्थिङ सेन्टर, स्वास्थ्य परीक्षणका लागि प्रयोगशालालगायत सुविधा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई आवश्यक तालिम तथा प्रोत्साहन भत्ता व्यवस्था गर्ने, स्वास्थ्य बिमालाई सहज र सुलभ बनाइने घोषणापत्रमा लेखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com