असन्तुष्टिको स्वर लोकतन्त्रको सुन्दर पक्ष : अध्यक्ष दाहाल

कैलाली, ८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् ।

गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको बताउदै भने, ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन् । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले ८ दल कहिले ९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com