भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिने कांग्रेसको असन्तुष्ट पक्षको तयारी

चितवन, १० बैशाख । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार कायम हुने भएपछि कांग्रेसको एक पक्ष असन्तुष्ट छ ।

कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्षसमेत रहेका नेता शम्भु अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसबाट मेयरमा उम्मेदवारी कायम रहनुपर्छ भन्ने निष्र्कषमा पुगेका छौं । पार्टी जोगाउन र कार्यकर्ताको भावनाको सम्मान गर्न पछाडि पर्ने कुरा भएन ।’

कांग्रेस केन्द्रले अझै पनि निर्णय सच्चाएर भरतपुरमा कांग्रेसकै उम्मेदवार खडा गर्नुपर्ने माग आफूहरुको कायमै रहेको उल्लेख गर्दै उहाँले केन्द्रले मेयरको उम्मेदवार नतोके जिल्लाबाट नै सर्वसम्मतिमा मेयर पदमा उम्मेदवारी रहने जानकारी दिनुभयो । पार्टीले गर्न सक्ने सम्भावित कारवाहीको कुनै चिन्ता नभएको अर्यालको भनाइ छ । कांग्रेसका नेता एवम् अधिवक्ता उद्धव लोहनीले चितवनका कांग्रेस जोगाउन यसपटक जोखिमपूर्ण भए पनि निर्णय लिइने बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com