गठबन्धनका उम्मेदवारलाई हराउँदै तीन गाउँपालिका अध्यक्षमा एमाले विजयी: कांग्रेस एक

मुस्ताङ, ३१ बैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए । त्यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत लिएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी (नेपाली कांग्रेस)की लक्ष्मी गुरुङले २ सय २५ मत लिएर पछ्याएकी थिइन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा एमालेका मनबहादुर गुरुङ १९४ मतका साथ विजयी भएका छन् । गठबन्धनका धनबहादुर गुरुङले ३९ मतका साथ पराजय व्यहोरेका छन् । त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले १५२ मताका साथ विजयी भएका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट बेदवहादुर गुरुङले ५५ मतका साथ पराजय व्यहोरेका छन् । १ नं. वडाध्यक्षमा एमालेका मिनराज गुरुङ विजयी भएका छन् ।

त्यस्तै मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् ।

स्थानीय तह २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षबाट जीत सुरुवात गरेको हो । नार्पाभूमि अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले विजयी प्राप्त गरेका हुन् । लामा गाउँपालिका भरबाट १५८ मत ल्याएर विजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणनामा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गरेका छन् । यस गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता रहेका थिए । तर निर्वाचनमा जम्मा ३०४ मत मात्रै खसेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com