मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेको छ ।

वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव पनि मनाइसकेका छन । तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो ।

यता एउटा मतपेटिका छुटेको पाइएको छ । बर्दिबासको अन्तिम नतिजा सार्वजनिकको पर्खाईमा रहेका नगरबासी मतपेटिका भेटिएको खबरले आश्चर्यमा परेका छन् । निर्वाचन कार्यालयका अनुसार अरु वडाको मत गणना गर्दै जाँदा सरस्वती आधारभूत विद्यालयको एउटा बाक्स भेटिएको हो । अब त्यसको गणना गर्नुपर्ने भएको छ । ‘हाम्रो तीन वटा मतदान केन्द्र थियो । सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ भनेर मैले पनि विहान सुनेँ,’ समरेस भन्छन्, ‘विजय घोषणा गरिदिनुभयो, हामीले विजय उत्सव मनाऔं । अहिले एउटा बक्सा भेटिएपछि समस्या आयो ।’

बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् । बर्दिबास ८ अन्तर्गत बेलगाछी- ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्काे बाकस अर्कै वडाकोमा फेला परेको तामाङले बताइन् ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा विजयी भएको घोषणा गरिसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com