सभामुखद्वारा यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौँ, ६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्नुपर्ने माग गरेपछि सभामुख सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताएका थिए । उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए । थापाले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताए ।

सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com