सौन्दर्य प्रतियोगी बलात्कार घटना छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह

काठमाडौँ, ८ जेठ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी यस्ता विषयमा सीघ्र छानबिनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । ‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको र समितिबाट छानबिनसमेत शुरु भइरहेको अबस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ’, गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शुक्रबार गठन गरेको उक्त छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com