एमाले मेयरका उम्‍मेदवार थापाको वडामा कांग्रेस विजयी

पोखरा, ८ जेठ । नेकपा एमालेका मेयर उम्‍मेदवार कृष्ण थापाको वडा नम्बर-१६ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका हुन् ।

तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ ‘राजु’लाई १४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३१८ मत पाउँदा गुरूङले ३ हजार १७० मत पाएका छन् । वडाका सदस्य पदमा भने नेकपा एमालेले जितेको छ । उक्त वडामा ७ हजार ५१९ खसेको थियो ।

मुख्य निर्वाचन आयोगले सार्वजनिक गरेको सूचना अनुसार उक्त वडामा वडाध्यक्षमा नेपाली कांग्रेसले हात पारे पनि मेयरमा भने नेकपा एमालेका कृष्ण थापाले सबैभन्दा बढी मत पाएका छन् । प्रमुख पदमा थापाले ३ हजार ४४६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ४९२ मत पाएका छन् । उनीहरुबीच ९५४ मतको फरक छ । हालसम्म पोखरा महानगरको १ लाख ८ हजार ८६१ मत गणना भएको छ । उक्त मत परिणामअनुसार ५ दलीय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडि छन् ।

आचार्यले ४३ हजार ५६५ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले ४० हजार १२३ मत पाएका छन् । आचार्य ३ हजार ४४२ मतले अग्रता लिइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकै अग्रता छ । एमालेबाट उम्मेदवार बनेकी मञ्जुदेवी गुरुङले ४५ हजार ६४९ मत पाएकी छन् भने उनका निकटम् प्रतिस्पर्धी कोपिला रानाभाटले ४३ हजार ६५४ मत पाएकी छन् । उनीहरुबीच १ हजार ९९५ मतान्तर छ ।

हालसम्म पोखरामा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, २०, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको नतिजा आएको छ । जसमध्ये नेकपा एमालेले ७ वटा र कांग्रेसले १७ वटा वडा जितेको छ । अहिले बाँकी रहेका ९ वटा वडाको गणना भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com