सबै स्थानीय तहमा विद्युतीकरण, विपन्नलाई निःशुल्क मिटर

काठमाडौँ, १० जेठ । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने भएको छ । उनका अनुसार ‘सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्नत गरी आगामी आर्थिक वर्ष थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ,’ ‘जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४ सय के.भी.ए. क्षमताका राष्ट्रि य तथा अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्न सुरु गरिनेछ ।’

राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने सरकारले बताएको छ । सबै नेपालीलाई उर्जाको पहुँच सुनिश्चित गर्न विपन्न वर्गका लागि निःशुल्क विद्युतीय मिटर जडान गर्ने सरकारले बताएको छ । सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘निःशुल्क उपलब्ध गराइने मासिक विद्युत खपतको सीमाभन्दा बढी उपभोग गर्ने घरायसी ग्राहकलाई उक्त सीमासम्मको विद्युत निःशुल्क उपलब्ध गराइनेछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com