सर्वोच्चद्वारा निजगढमा विमानस्थल बनाउने निर्णय बदर

काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ ।

आनन्द भण्डारीलगायतले २ वर्षअघि दिएको रिटमा आदेश जारी गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

‘लिखित आदेश आएको छैन तर श्रीमानहरूले इजलासमा निजगढमा विमानस्थल बनाउन भनी सरकारले गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी उपयुक्त विकल्प खोजेर उपयुक्त ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरिदिएको छ भनेर बोल्नुभएको छ,’ उनले भने।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com