आज मिथिलानी बर्साइत पर्व मनाइँदै

काठमाडौँ, १६ जेठ । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।

जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ ।

अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com