हेटौंडा उपमहानगर कार्यपालिकामा गठबन्धन अल्पमतमा, एमालेको एकल बहुमत

हेटौंडा, १७ जेठ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित निकालेको सत्तारुढ गठबन्धन कार्यपालिकामा भने अल्पमतमा छ । हेटौंडाको नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ ।

सबै वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने कानुनी प्रावधान छ । सम्बन्धित पालिकाको सभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरमा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि कार्यपालिकाले पूर्णता पाउँछ । हेटौंडा उपमहानगरको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, १९ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा २९ सदस्य रहन्छन् । हेटौंडा नगर कार्यपालिकामा एमालेको ९ वडा अध्यक्ष, ५ महिला सदस्य र ३ दलित र अल्पसंख्यक सदस्य गरी १७ जनाको प्रतिनिधित्वसहित ५९ प्रतिशत उपस्थिति छ ।

नगर कार्यपालिकामा काँग्रेसको एक उपमेयर र ८ जना वडा अध्यक्षसहित ९ जनाको प्रतिनिधित्व छ । प्रतिशतका हिसाबले नगर कार्यपालिकामा काँग्रेसको उपस्थिति ३१ प्रतिशत छ । नगर कार्यपालिकामा माओवादी केन्द्रका एक जनाको मात्र प्रतिनिधित्व छ । प्रतिशतका हिसाबले यो ३ प्रतिशतमात्र हो । यस्तै, एकीकृत समाजवादीको एक मेयर र एक वडा अध्यक्षसहित नगर कार्यपालिकामा २ जनाले प्रतिनिधित्व गर्दछन् । कार्यपालिकामा एकीकृत समाजवादीको ७ प्रतिशत प्रतिनिधित्व छ ।

१०० सदस्यीय नगरसभामा एमालेका ९ वडाध्यक्ष, ४१ वडा सदस्य र ३ जना कार्यपालिका सदस्य गरी ५३ सदस्य छन् । यस्तै काँग्रेसको एक उपमेयर, ८ वडाध्यक्ष र ३३ जना वडा सदस्य छन् । नगरसभामा माओवादी केन्द्रको एक वडाअध्यक्षमात्र छ भने एकीकृत समाजवादीको एक मेयरसहित एक वडा अध्यक्ष र ४ सदस्य छन् । अघिल्लो निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरसहित १३ वटा वडा अध्यक्ष र बहुमत सदस्य जितेको एमालेले मेयर, उपमेयरसहित ९ वडाध्यक्ष र केही सदस्य गुमाएको छ ।

गठबन्धनको भागबण्डामा मेयर पद गुमाएको काँग्रेसले विगतको तुलनामा हेटौंडाको उपमेयरसहित ३ वडाध्यक्ष र केही सदस्य थपेको छ । २०७४ को निर्वाचनमा काँग्रेस ५ वटा वडाको वडा अध्यक्ष र केही सदस्यमा सीमित थियो । काँग्रेसले हाल उपमेयरसहित ८ वटा वडा अध्यक्ष र केही सदस्य जितेर मत र पद दुवै थप्न सफल भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com