सम्पादकीय

भारु नोटबन्दीले सुन तस्करी बढ्यो, ५ वर्षमा १ अर्ब ६ करोडको अवैध सुन तस्करी



काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ ।

नगद राख्दा जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छन् । सोही कारण भारतीय बजारमा सुनको माग बढ्न थालेपछि नेपाल हुँदै त्यहाँ सुन तस्करी हुन थालेको छ ।

‘भारतमा सुन पठाउन नेपालका तस्कर सल्बलाउन थालेका छन्’, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख नवराज सिलवालले भने, ‘भारतीय बजारमा अहिले सुनको माग उच्च छ । भारतमा पठाउन नेपालमा सुन तस्करी फेरि बढ्न थालेको हो ।’

डीआईजी सिलवालका अनुसार नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढेको छ । यसका साथै नेपालमा पनि भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले सुन प्रयोग गर्न थालेको हुनसक्ने डीआईजी सिलवालले बताए ।

‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’, उनले भने, ‘भारु भुक्तानका लागि सुन नै एकमात्र उत्तम उपाय बन्न सक्छ ।’

अहिले नेपाली बजारमा पनि सुनको माग उच्च छ । सुन अभावका कारण केही व्यवसायीले गहना अर्डर लिन छाडिसेकेका छन् भने धेरैले तस्करीको सुन बढी मूल्यमा बेचिरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले बजार मूल्यभन्दा प्रतितोलामै तीन हजार रुपैयाँ बढीमा सुन बिक्री भइरहेको छ । बजारमा सुन अभाव भएका कारण उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएको महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । अहिले दैनिक १० देखि १५ किलो तस्करीको सुन बजारमा आइरहेको छ । ‘बजारमा ४० देखि ४५ किलोसम्म सुनको माग छ तर १५ किलोमात्र आपूर्ति हुँदा तस्करले मौका छोप्न पाएका छन्’, उनले भने, ‘सरकार आफैंले तस्करलाई प्रोत्साहन गरिरहेको छ ।’

उनका अनुसार दैनिक आउने ५ देखि ७ किलोसम्म सुनले बजार धान्दैन । सरकारले व्यवसायी आफैंलाई सुन आयातको सुविधा नदिएसम्म तस्करले यसरी नै मौका छोप्ने व्यापारीहरू बताउँछन् ।

यसका साथै भारतीय बजारमा सुनको माग बढ्नु पनि तस्करीको मुख्य कारण बनेको उनको आकलन छ । उनले भने, ‘भारतीय बजारमा वार्षिक एक हजार दुई सय टन सुन खपत हुँदै आएको छ । तर सरकारी कोटाअनुसार चार सय टनमात्र आउने गरेको छ । त्यसले भारतीय बजार धान्दैन । अझ अहिले नगद राख्दा जोखिम बढेपछि सुन सञ्चित गर्न थालेका छन् भारतीयहरू ।’

५ वर्षमा १ अर्बको ‘अवैध सुन’

पाँच वर्षको अवधिमा करिब ९७ करोड ४२ लाख मूल्यबराबरको अवैध सुन नेपाल भित्रिएको छ । यस अवधिमा करिब २ सय २८ किलो गैरकानुनी तरिकाले भित्रिएको सुन अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभाग तथा नेपाल प्रहरी अनुसन्धान ब्युरो ९सीआईबी० ले विभिन्न समयमा बरामद गरेको हो । शुक्रबारको बजार भाउअनुसार दुई सय २८ किलो सुनको एक अर्ब ६ करोड ७२ लाख रुपैयाँ पर्ने आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।