सम्पादकीय

सुन समातिन्छ, मालिक कहाँ हराउँछन् ?



काठमाडौं, २ माघ । विमानस्थलबाट बाहिरिएको करिब ३४ किलो सुन समातिएको दुई साता पनि नबित्दै काठमाडौं १६, चमतीबाट १५ किलो अवैध सुन बरामद भएको छ ।

रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको सुन सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको बालाजु वृत्तले शनिबार बरामद गरेको हो ।

पुस १३ गते पनि महानगरीय अपराध महाशाखाले रसुवाको केरुङ हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ किलो सुन थानकोटबाट बरामद गरेको थियो । सुन तस्करीका यी तीनै घटनामा एउटै समानता देखिन्छ । त्यो हो, भरिया पक्राउ पर्छन्, सुनका मालिक पत्ता लाग्दैनन् ।

विमानस्थल बाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड छ भने शनिबार बरामद सुनको करिब ७ करोड २ लाख र पुस १३ मा बरामद सुनको ३ करोड १७ लाख २६ हजार रुपैयाँ छ।

रसुवा हुँदै काठमाडौं भित्रिएको अवैध सुन ओसारपसारमा समान प्रवृत्ति देखिन्छ। दुवैमा भाडाका गाडी प्रयोग गरिएका छन् । दुवैमा चालक मात्रै पक्राउ परेका छन् र दुवै चालकले अहिलेसम्म सुन कसका निम्ति लैजान लागिएको भन्ने बताएका छैनन् । ७ किलो सुन ओसार्न बा८च ७४२० नम्बरको हाइलक्स गाडी प्रयोग भएको थियो । जसका चालक थिए, सिन्धुपाल्चोकको लिस्तीका कुन्साल लामा ।

शनिबार बरामद १५ किलो सुन ओसार्न ना१ज ४९६४ नम्बरको टाटा सुमो गाडी प्रयोग भएको थियो । जसका चालक थिए, भक्तपुर सूर्यविनायकका रवीन्द्र भुजेल । विमानस्थलबाट सुन ओसार्न भने बाँकेका गोपालबहादुर शाही भरिया बनेका थिए ।

पुस १३ को सुन बरामद घटनालाई महाशाखाले थप अनुसन्धान निम्ति राजस्व अनुसन्धान विभागमा बुझाइसकेको छ । सुन ओसार्न प्रयोग भएको गाडी धनीका आधारमा सुन मालिक पक्रन विभागले प्रयास त थालेको छ, तर त्यसमा सफलता भने पाइसकेको छैन ।

राजस्व अनुसन्धान विभागले नै महाशाखालाई गाडी मालिकलाई उपस्थित गराउन भनेको थियो । तर सिन्धुपाल्चोक लिस्तीका गाडी धनी इन्द्र श्रेष्ठ अहिलेसम्म फरार छन् ।

महाशाखाले श्रेष्ठलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँग पनि मद्दत मागेको छ । तर त्यसमा सफलता मिलिसकेको छैन । स्रोतका अनुसार बयानमा चालक कुन्साल लामाले आफूलाई चिनियाँ नागरिकले नै सुन दिएको दाबी गरेका थिए । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल सुनको असली मालिक धेरै हुन सक्ने बताउँछन् ।

खनालले गाडी धनी श्रेष्ठको पनि सुनमा धेरथोर लगानी भएको सूचना मिलेको बताए । ‘अवैध गितिविधिमा कोही पनि उम्किन पाउँदैन । ढिलो चाँडोको कुरा मात्रै हो,’ उनले भने ।

शनिबारको घटनामा पनि सुन मालिक समात्ने प्रहरीको योजना फेल खायो। प्रहरीका अनुसार गाडी चालक रवीन्द्रसँगै केरुङबाट आएका अर्का एकलाई समात्न प्रहरीले शुक्रबार रातभर कोसिस गरेको थियो । तर प्रहरीले गाडी समात्नुअघि नै ती व्यक्ति फरार भए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्नकुमार कार्कीका अनुसार अन्य दुईबारे पनि सूचना मिलेको छ । उनले भने, ‘तिनीहरूलाई पनि समात्न प्रहरी सक्रिय छ ।’

अवैध सुन बरामदका प्रत्येक घटनामा चालक मात्रै पक्राउ पर्ने र असली मालिकसम्म अनुसन्धान नै नपुग्ने भएकैले परिसरले यो घटनामा संगठित अपराध कसुर ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । ‘अवैध सुन समात्ने, राजस्वमा बुझाउने तर मालिक पत्ता नलाग्ने समस्या नहोस् भनेर यसपालि फरक ढंगले अनुसन्धान थालिएको हो,’ कार्कीले भने । उनका अनुसार सुन तस्करीका अनेक तह हुन्छन्। एउटा तहबारे अर्को तहलाई थाहा हुँदैन । त्यस्ता सेटिङका अनेक ‘कोड’ भाषासमेत हुन्छन् । ‘यो गम्भीर संगठित अपराध हो,’ उनले भने ।

सुन समात्न सक्रिय बालाजु वृत्तका डीएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको चालक बस्ने सिट पछाडि एउटा बक्स बनाएर त्यसभित्र अर्को फलामे बक्समा सुन राखिएको थियो । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्र रहेको सुन पत्ता लगाउन पनि प्रहरीलाई घण्टौं लागेको थियो । पुस १३ मा पनि यस्तै भएको थियो ।

पठाउनेले सुन लगेर एकान्तकुना पुर्‍याउनु र गाडीको चाबी एक जना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ । डीएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयन् पटक सुन ओसारेको देखिन्छ। फलामे बक्सको वेल्डिङ निकै पुरानो छ ।’

अवैध सुनका मालिक फेला नपर्ने घटना नयाँ भने होइन । विमानस्थलको भन्सार हुँदै बाहिरिएको सुनको मालिक को हुन् भन्ने पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फरक ढंगले अनुसन्धान जारी राखेको छ । प्रहरीले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दीनबन्धु थापा र सन्तोष काफ्ले तथा काभ्रेको पनौतीबाट रामहरि कार्कीसहित अन्य एकलाई पक्राउ गरेको कान्तिपुर दैनिकमा समाचार छ ।