सम्पादकीय

लोकतान्त्रिक फोरमभित्र विवादः गच्छदार सरकारमा जान इच्छुक



काठमाडौं, २ माघ । प्रधानमन्त्रीले सरकारमा लाने तयारी गरेपछि फोरम लोकतान्त्रिकभित्र विवाद बढेको छ । पार्टी अध्यक्ष विजय कुमार गच्छदार आफैँ सरकारमा जान इच्छुक देखिएपछि अन्य नेताले त्यसको विरोध गरेका छन् ।

उनीहरू अहिले पार्टी सरकारमा सहभागी हुन नहुने अडानमा छन् । पहिले सरकारमा जान खोज्दा लैजान नचाहेको, तर अहिले अप्ठेरोमा परेपछि मात्र प्रधानमन्त्रीले फोरम लोकतान्त्रिकलाई खोजेको भन्दै नेताहरूले सरकारमा जान नहुने अडान राखेका हुन् ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पार्टी अहिले सरकारमा नजाने बताए । ‘पहिले हामीले सरकारमा जान चाहेका थियौँ, त्यसवेला लैजानुभएन ।

अहिले कांग्रेससँगको सहमतिका आधारमा प्रचण्डले सरकार छाड्ने वेला भएको छ । त्यसैले यतिवेला सहभागी गराउन खोज्नुको कुनै अर्थ छैन,’ चौधरीले भने, ‘अब बाहिरै बसेर सरकारलाई सहयोग गर्छौं ।’

गत साउनमा प्रधानमन्त्री निर्वाचनका वेला प्रचण्डलाई मतदान गरेको लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन भने कांग्रेस–माओवादीले अनिच्छा देखाएका थिए । फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी नगराउन मधेसकेन्द्रित दलले दबाब दिएका थिए । तर, अहिले संविधान संशोधन प्रस्तावमा दुईतिहाइ बहुमत पुर्‍याउन सबैलाई समेट्ने तयारीमा सरकार लागेको हो ।

अहिले मधेसी मोर्चाले पनि सरकारमा गच्छदारको पार्टीलाई ल्याउन ग्रिन सिग्नल दिएको छ । तर, पार्टीभित्रै विरोध देखिएपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेको नयाँ पत्रिकामा समाचार छ ।