शैक्षिक

बाँकेमा मातृ मृत्युदर बढ्दो



१९ पुस, बाँके । बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८ गतेसम्ममा १० जना गर्भवतीले ज्यान गुमाइसकेका छन् ।

बाँकेमा निम्न वर्गका तथा मधेसी मूलका आमाको मृत्यु बढी हुने भएको छ । गत आवमा बाँकेमा २० जनाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो ।

गत वर्षको तथ्याङ्कभन्दा यस वर्ष साढे पाँच महिनाको अवधिमा १० जनाको ज्यान जानु जिल्लामा मातृ मृत्युदर बढ्नु रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता जोशी भण्डारीले बताए ।

बाँकेमा आमा बचाउ अभियान कार्यक्रमको सोमबार उद्घाटन गर्नुहुँदै क्षेत्रीय स्वास्थ्य निर्देशक भण्डारीले भने, “आमाले आफू बाँच्ने विषयमा उचित परामर्श नलिनु र अन्तिम अवस्थामा मात्रै अस्पताल आउनुले पनि मातृमृत्युदर बढेको हो ।”

सोमबारदेखि सुरु भएको अभियानले ग्रामीण क्षेत्रका महिलालाई गर्भवती चेकजाँच, नवजात शिशु स्याहारलगायतका विषयमा सचेतनामूलक कार्य गर्ने भएको छ ।

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँके जिल्लामा सुविधा सम्पन्न र प्रशस्त मात्रामा अस्पताल तथा स्वास्थ्य चौकी भएर पनि मातृ मृत्युदर बढ्नु चिन्ताको विषय भएको बताए ।

उनले भने “यो अभियान जिल्ला जनस्वास्थ्यको मात्र कार्यक्रम हो भनी नसोचेर सम्पूर्ण तह तप्काका व्यक्तिले आफूले गर्नुपर्ने कामको जिम्मेवारी लिनुपर्छ ।”