अर्थ

ऊर्जामन्त्रीबीच भेटः उर्जा उत्पादनमा सहकार्य



अबुधावी ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ ।
अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली राजदुतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए ।
वल्र्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रो पावर विकासको राम्रो संभावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरे ।

त्यहाँका ऊर्जामन्त्री मजौरीले नेपालमा हाइड्रो पावरमा लगानी गर्न आफुहरु पनि इच्छुक रहेको भन्दै त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्न सकिने बताए ।

करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफुहरु इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले दीगो ऊर्जा विकासका लागि हाइड्रो पावर र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए ।
अबुधावीमा जारी वल्र्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले भाग लिए । समिटमा पेट्रोलियम र हाईड्रो ऊर्जालाई क्रमश सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् ।