सम्पादकीय

शितलनिवासमा ज्ञानेन्द्रको २० मिनेट, बिहेस्थलमै कटवाल–महतोको घोचपेच



काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए ।

उनी अपराह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवन पुगेका थिए । शीतलनिवास पुगेर मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सुरक्षाकर्मीले दिएको पुष्पगुच्छा वर–वधूलाई दिएर बधाई तथा शुभकामना दिएका थिए ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले बेहुलीलाई खामसमेत दिएका थिए । वर–वधूलाई शुभकामना दिएपछि दाहिनेतिर रहेकी राष्ट्रपति भण्डारीलाई नमस्कार गर्दै उनले बधाई भनेका थिए । राष्ट्रपति भण्डारीले पनि मुस्कुराउँदै धन्यवाद भनेकी थिइन् । त्यसपछि सुरक्षाकर्मीको सहयोगमा उनी मूल भवनको पछाडिपट्टि रहेको भोजस्थलतर्फ गएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र आउने जानकारी पाएर भोजस्थलमा राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गणेश थापाले उभिएर स्वागत गरेका थिए । एउटै टेबुलमा बसेका पूर्वराजा ज्ञानेन्द्रले उनीहरूसँग दूध हालेको चिया पिउँदै करिब १५ मिनेट बिताए । त्यसक्रममा सामान्य सन्चो–बिसन्चोलगायतका कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिए ।

कटवाल–महतो घोचपेच

बिहेस्थलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र पूर्वप्रधानसेनापति रुक्मांगद् कटवालबीच घोचपेच भयो । कटवालले महतोलाई ‘नेपालको नेता हुने प्रयास गर्नुस्’ भनेका थिए । महतोले भने ‘नेपालकै नेता हुने कोसिस त गरिराखेकै हो तर दिएनन्’ भन्दै जवाफ फर्काएका थिए । त्यसपछि कटवालले ‘नेपाली जनताले भोट दिएर जिताएका त हुन् नि, होइन र’ भनेका थिए ।

पूर्वराजासँग यसरी छलिए अरू दलका नेता

पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अन्य दलका नेतासँग भएन । पूर्वराजा भोजस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलगायत नेताहरू चौरमा गफिइरहेका थिए । नजिकैको टेबुलमा प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । तर, उनीहरू कोही पनि पूर्वराजाको नजिक नपुगेको  नयाँ पत्रिकामा समाचार छ ।