अर्थ

कृषिमा यान्त्रिकिकरणसंगै कम लागतमा उत्पादन दोब्वर



बागलुङ, ७ माघ । कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग बढ्दो छ ।किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोग गर्न थालेका छन् । खाद्यन्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकिकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन् ।

जिल्लाभर करिब डेढसय यान्त्रिक हलो ९मिनि टिलर० वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिनुभयो । चालु आवमा थप एक सयभन्दा बढी यान्त्रिक हलो अनुदानमा वितरण गर्ने कार्यक्रम छ । रु ५० हजार पर्ने ‘मिनि टिलर’ किसानले ५० प्रतिशत अनुदानमा पाउने गरेका छन् ।

व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा औजार, उपकरण प्रदान गर्ने गरिएको अधिकारी बताउनुहुन्छ । कृषि कार्यालयले वार्षिक कार्ययोजनामार्फत सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ । कार्यालयले पाँच वर्षअघि नमुनाको रुपमा ‘मिनि टिलर’ जिल्लामा प्रवेश गराएको हो ।

भूकम्पपीडित किसानलाई भने ९० प्रतिशत अनुदानमा ‘मिनि टिलर’ प्रदान गरिने भएको छ । कम लागत र जनशक्तिको प्रयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले कृषिको यान्त्रिकरणमा जोड दिइएको हो । ‘कार्यालयले मात्रै यान्त्रिकरणको लागि सबै काम गर्न सक्दैन,” अधिकारीले भने ।

परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकरणको आवश्यकता परेको उहाँको भनाइ छ । कार्यालयले खाद्यन्न बालीतर्फ गहुँ, धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग समेत किसानलाई वितरण गर्दै आएको छ । यस्तै, तरकारी बालीतर्फ आरा, करौंती, सिकेचर, हजारीलगायत औजार समेत उपलब्ध गराएको छ ।

यस्तै आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपीलगायत सामग्री समेत अनुदानमा वितरण गरिएको छ । किसानले कृषि उपकरणमा ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म अनुदान पाउने गरेका छन् । काम छिटो, छरितो र सहज तथा लागत र जनशक्ति पनि कम लाग्ने भएपछि किसान यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् ।

“चार हल गोरुले जोत्ने खेत एउटै यान्त्रिक हलोले जोत्ने गरेको छ,” अधिकृत अधिकारीले भने । परम्परागतखेती प्रणालीबाट उब्जाउ कम हुने र लगानी बढी लाग्ने हुँदा कृषिमा यान्त्रिकरण आवश्यक भएको किसान बताउँछन् ।