सम्पादकीय

नेपालसहित दक्षिण एसियाली देशमा ‘रेल सर्किट जोडने भारतको घोषणा



काठमाडौं, ९ माघ । भारतीय केन्द्रीय रेलमन्त्री सुरेश प्रभूले भारतले नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग मिलेर ‘रेल सर्किट’ विस्तार गर्ने बताएका छन् ।

दार्जिलिङमा हालै आयोजित युनेस्को र भारतीय रेलवेबीच एक सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा भारतीय रेलमन्त्रीले भने,  ‘नेपाल,भुटान,बंगलादेश र म्यानमारसँग हाम्रो राम्रो सम्बन्ध छ । ती देशसँग मिलेर रेल सर्किट विकास गर्न सकिन्छ। त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ ।’

छिमेकी मुलुकहरु नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग रेल सञ्जालसंग भारत जोडिन सकेको खण्डमा ती देशसँग अन्तर्क्रिया, ब्यापार, पर्यटन, रोजगारी र कनेक्टिभिटी (सम्पर्क) विस्तार हुने भारतीय रेलमन्त्रीले बताएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।

भारतले सन् २०१६ को शुरुमा आफ्नो केन्द्रीय बजेटमा काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्ने एकतर्फी रणनीतिक घोषणा गरेको थियो। उक्त घोषणा अघि भारतले उक्त रेल सञ्जाल नेपालसंग जोड्नका लागि राजनीतिक र प्रशासनिक तहमा कुनै परामर्श नगरेको सरकारी अधिकारीहरु बताउँछन् ।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालको गत सेप्टेम्बरमा सम्पन्न भारत भ्रमणमा जारी संयुक्त वक्तव्यमा नेपाल र भारतबीच सीमापार रेलसञ्जाललाई कार्यान्वयनम ल्याउने उल्लेख छ। जयनगर(बिजलपुर(बर्दिवास र जोगबनि(बिराटनगर रेल परियोजनालाई पूर्णता दिने सहमति दुई देशबीच भएको छ। त्यस्तै भारतसँग नेपालगंज, काँकडभिट्टा र भैरहवाबीच सिधा रेल सञ्जाल विस्तार गर्न आवश्यक काम अघि बढाउने सहमति पनि नेपाल र भारतबीच त्यसबेला भएको छ।

चीनले ‘वान बेल्ट वान रोड’ अवधारणा अन्र्तगत दक्षिण एसियाका बंगालादेश, पाकिस्तान, नेपाल, श्रीलंका र माल्दिभ्समा रेल, सडक लगायत भौतिक पूर्वाधार विकास गर्ने रणनीति अघि सारेपछि भारतले त्यसलाई ‘काउन्टर’ दिने गरी रेल सर्किट निर्माण गर्ने रणनीति अघि सारेको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले केही महिना अघि लेखेको थियो ।

उक्त अवधारणाअनुसार चीनले आफू र एसियाली, अफ्रिकी र युरोपेली मुलुकबीच रेल तथा सडक सञ्जाल विस्तार गर्ने र कनेक्टिभिटी बढाउने रणनीति लिएको छ । भारत र चीनबीच आफ्नो प्रभाव विस्तार गर्ने तिव्र होडबाजी देखिएको रणनीतिक मामिला विश्लेषकहरुले लेखेका छन् । चीनले स्वशासित क्षेत्र तिब्बतबाट नेपाल सीमातर्फ रेल सञ्जाल विस्तार गर्ने घोषणा गरेपछि भारतले पनि आफूसंग सीमा जोडिएका नेपालका क्षेत्रमा रेल सञ्जालका लागि गृहकार्य अघि बढाएको हो ।

सन् २०१५ मा चीनले सन् २०२० भित्र नेपाल सीमासम्म रेल विस्तार गर्ने घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच सीमापार रेल विस्तार गर्ने सहमति भएको थियो । जसअनुसार चीनले केरुङ्सम्म आउने रेल काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने योजना बनाएको छ । चीन र भारतबीचमा नेपालसम्म रेल विस्तारका लागि प्रतिस्पर्धा देखिएको अन्नपूर्ण पोस्टमा समाचार छ ।