सम्पादकीय

सरकार छाड्ने राप्रपाको चेतावनी



काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

राजनीतिक नियुक्ति, मन्त्रिमण्डल विस्तार, राजनीतिक संवादलगायत विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एकलौटी गरेको भन्दै राप्रपाले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने चेतावनी दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख दलको बैठकसमेत राप्रपाले बहिष्कार गरेको छ । प्रधानमन्त्री दाहालले आह्वान गरेको बैठकमा सहभागी नभई राप्रपा अध्यक्ष कमल थापा पार्टीको काममा गृहजिल्ला मकवानपुर गएका छन् ।

राप्रपाको असन्तुष्टिसँगै संविधान संशोधनका लागि दुईतिहाइ मत पुराउने कांग्रेस–माओवादी केन्द्रको गृहकार्यमा धक्का पुग्ने देखिएको छ । व्यवस्थापिका–संसद्मा दुई राप्रपा एक भएपछि सांसद संख्या ३७ पुगेको छ । सरकारमा राप्रपाका तर्फबाट दीपक बोहोरा आपूर्तिमन्त्री र विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री छन् ।

राप्रपाका एक नेताका अनुसार जुनसुकै बेला सरकारबाट बाहिरिने गरी तयारी अवस्थामा रहन दुवै मन्त्रीलाई अध्यक्ष थापाले निर्देशनसमेत दिएका छन् । थापाका स्वकीय सचिव दामोदर वाग्लेका अनुसार शनिबार साँझ ५ः३० बजे बसेको प्रमुख दलको बैठकका लागि प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले पुनः बोलाएका थिए । थापा भने बालुवाटार बैठकमा नगई पार्टीको काममा मकवानपुरतिर लागेका हुन् ।

‘संसद्को चौथो ठूलो शक्ति र सरकारमा सहभागी तेस्रो ठूलो दललाई हरेक विषयमा बाइपास गरिँदै आएको छ’, हेटौंडा पुगेका वाग्लेले टेलिफोनमा भने, ‘कांग्रेस र माओवादी केन्द्रको साक्षी–किनाराका रूपमा डाकिएको बैठकमा भाग लिनु र नलिनुको कुनै औचित्य नदेखेर अध्यक्षज्यू पार्टीको काममा केन्द्रित हुनुभएको हो ।’

न्यायाधीश तथा संवैधानिक निकायहरूमा नियुक्ति, राष्ट्रका मूलभूत विषयमा राजनीतिक संवाद, मन्त्रिमण्डल विस्तार, संविधान संशोधन विधेयकलगायत गम्भीर विषयमा छलफल नगरेपछि थापा प्रधानमन्त्री दाहालसँग रुष्ट भएको उनले सुनाएको कारोबारमा समाचार छ ।