सम्पादकीय

जसले प्रहरीलाई सेलिब्रेटी बन्न सिकाए



काठमाडौं, ११ माघ । प्रहरी त धेरै छन् । ७० हजारको संगठनमा केही यस्ता प्रहरी अधिकृत पनि छन् जसको नाम देशमा मात्र नभएर विदेशमा समेत प्रख्यात छ । हातको औंलामा गन्न सकिने केही प्रहरी अधिकृतले नेपालीको मन जित्न सफल भएका छन् ।

ती व्यावसायीक प्रहरी अधिकृतका कारण आम नेपालीले आफूलाई सुरक्षित रहेको महसुुस गर्ने गरेका छन् । पछिल्लो समय राजधानीमा डिआईजी नवराज सिलवाल र एसएसपी सर्वेन्द्र खनाल चर्चाको शिखरमा छन् । जसलाई भावी आईजीको रुपमा समेत सर्वसाधारणले हेर्ने गरेका छन् ।

डिआईजी सिलवालले तत्कालिन समयमा एसपीको फूली लगाएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै काठमाडौंमा प्रहरीको ‘ग्ल्यामर’ बढेको हो । राम्रो काम गरेर वाहीवाही कमाएका सिलवालले त्यसताका राजधानीबासीको नजरमा सेलिब्रेटी बन्न पुगे । राम्रो र जनताको भाबनालाई बुजेर काम गर्न सके प्रहरी पनि सेलिब्रेटी बन्न सक्नेरहेछ भन्ने उदाहरण दिँदै अन्य प्रहरीको लागी ‘रोलमोडल’ बने ।

पढेका र राम्रा व्यक्तिहरू पनि प्रहरीमा हुन्छन् भन्ने कुरा उनले स्थापित गराएका थिए । पब्लिक प्राइभेट पार्टनरसिपमा उनले महत्वपूर्ण काम गरे । काठमाडौं प्रमुख बनेको नौ महिनामा बढुवा भएर सरुवा भएपनि छोटो समयमानै सिलवालले राजधानीबासीको मन जित्न सफल भए ।

काठमाडौंबाट लागूऔषध नियन्त्रण ब्यूरो, केन्द्रिय प्रहरी प्रवक्ता र पूर्वक्षेत्रीय कार्यालयमा आफ्नो क्षमता प्रस्तुत गरेका डिआईजी सिलवालले हाल नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरोमा देखाएको क्षमताको कारण आम नेपालीको नजरमा अब्बल दर्जाको प्रहरी अधिकृतको रुपमा परिचित भए ।

नेपाल प्रहरीमा बौद्धिक छवी भएका उच्च अधिकृतका रूपमा परिचय बनाएका सिलवालले गत महिनामा अन्र्तराष्ट्रिय अवार्ड समेत हात पारे । जुन नेपाल प्रहरीले हासिल गरेको पहिलो अवार्ड थियो । २०४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरू गरेका सिलवाल नेपाल प्रहरीमा क्षमतावान् प्रहरी अधिकृत रुपमा चिनिन्छन् ।

उनले संयुक्त राष्ट्रसंघको विभिन्न युनिटमा समेत महत्वपुर्ण जिम्मेवारीमा काम गरिसकेका छन् । सिआईबीको जिम्मेवारी सम्हालेसँगै नक्कली डाक्टर, इन्जीनियर र पाइलटलाई समेत कानूनको कठघरामा उभ्याउन सफल सिलवालले मानवबली दिने समूहलाई समेत जेलमा कोचे ।
ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङकी एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरेका थिए ।

पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा सिआईबीको टोलीले आरोपीतलाई पक्राउ गरी महिलालाई बलि दिनबाट जोगाउन सफल भएका थिए । यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जितबहादुर दर्जीलगायत टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूताबास पु¥यायो । उनीहरूको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो ।

पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो । सोही  निवेदनका आधारमा पीडित महिलालाई भारतीय पुलिसको सहयोगमा सिआईबीले उद्धार गर्न सफल भयो । यी त केबल सिआईबीले गरेको उदाहरण घटना मात्र हुन । आर्थिक वर्ष २०७२-०७३ मा ब्युरोले १ सय १ घटनाको सफल अनुसन्धान गर्न सफल भएको छ ।
सिलवाल नेतृत्वको ब्युरोले तान्जनिया, किर्गिस्तान, लिबिया, सिरीयालगायत देशमा मानव बेचविखन गरेको आरोपमा १६ घटनाको सफल अनुसन्धान गरेको छ । दूरसञ्चार हानि÷नोक्सानी गरी (भिओआपी) कल बाइपास गर्ने गरेको आरोपितलाई समेत कठघरामा उभ्याएको छ ।

६ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षीया बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानको दोषीलाई समेत सिआईबीले पक्राउ गर्न सफल भएको थियो । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते ६, चोरी एक र ठगीको ५० भन्दा बढी घटनाको अनुसन्धान गरेको जनप्रहार साप्ताहिकमा समाचार छ ।