राजनीति

संशोधन प्रस्ताब निर्वाचन विथोल्ने खेलः नेता भट्टराई



काठमाण्डौ,माघ १३ । नेकपा एमालेका सचिव एव प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे ।
भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसद्मा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे । ‘चुनावका लागि सकारात्मक सहयोग गर्न एमाले जहिलेपनि तयार भएको वताए ।
सचिव भट्टराईले नेपाल–भारतबीच ऐतिहाँसिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्धिपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘हरेक देशका आ–आफ्ना संवेदनशिलता हुन्छन्, एमाले कुनै पनि मित्रराष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन, र हाम्रो देशको संवेदनशिलतामाथि पनि कसैले खेलवाड गर्न पाईँदैन् ।’
जनसङ्ख्या, भूगोल र आर्थिक सामाजिक रूपबाट मुलुक सानो ठुलो हुन सक्ने भए पनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठुलो नहुने उनको भनाई थियो ।
उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गरे । भट्टराईले भने,‘नेपालले त ईतिहाँसमै कहिल्यैपनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरूलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ।