सम्पादकीय

घाटा हुँदाहुँदै निगमले किन ल्यायो चीनबाट नयाँ विमान ?



काठमाडौं, १४ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए–६० विमान काठमाडौं आइपुगेको छ । बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमले ५६ सिट क्षमताको विमान आन्तरिक उडानका लागि ल्याएको हो ।

निगमले यसअघि नै चीनबाट दुईवटा विमान ल्याइसकेको छ। चीनमा निर्मित एमए–६० र वाई १२ ई विमानले व्यावसायिक उडान भरिरहेका छन् । तर, निगमले दुवै विमानको उडानमा घाटा सहँदै आएको छ । आन्तरिक उडानमा घाटा सहेरै भए पनि निगमले चीनबाट तेस्रो विमान भित्र्याएको हो ।

निगमले विमान ल्याउन एक साताअघि नै अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचन र इन्जिनियर पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन पठाएको थियो । अर्को १८ सिट क्षमताको वाई १२ विमान शनिबारसम्म नेपाल आइपुग्ने निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले बताए । निगमले बाँकी दुईवटा वाई १२ विमान ६ महिनाभित्र ल्याउने भएको छ ।

एमए–६० विमानको कलसाइन नम्बर नाइन एनएकेआर पाएको छ । विमानले छिट्टै आन्तरिक उडान सुरु गर्ने निगमले जनाएको छ । दुई विमान भित्रिएपछि निगमसँग आन्तरिक तथा वाह्य उडानका लागि एउटा बोइङ, दुईवटा एयरबस, दुईवटा एमए(६०, दुईवटा वाई १२ ई र एउटा ट्विनअटर जहाज हुनेछ । एउटा बोइङ र ट्विनअटर विमान ग्राउन्डेड छन् ।

चिनियाँ विमानले घाटा

चिनियाँ विमानकै कारण निगमले आन्तरिक उडानमा घाटा बेहोर्दै आएको छ । निगमलाई गत आर्थिक वर्षमा आन्तरिक उडानबाट ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो । निगमले अन्तराष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडान सेवा सञ्चालन गरिरहेको छ । चिनियाँ जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने भएकाले घाटा बढेको हो ।

निगमका अनुसार चिनियाँ विमान वाई १२ ले गत आवमा जम्मा एक सय दुईवटा उडान गरेर ६ सय २२ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले चालू आवको पहिलो चार महिनामा जम्मा ८५ उडान गरेर दुई सय ९५ जना यात्रु बोको छ । एमए ६० ले गत वर्ष नौ सय ६ वटा उडान गरेर २० हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । यो वर्षको चार महिनामा तीनसय सात उडानबाट पाँच हजार नौ सय यात्रुलाई सेवा दिएको अन्नपूर्ण पोष्टमा समाचार छ ।