समाचार

जनस्वास्थ्य कार्यालय सिटामोलको खोजीमा



गोरखा, १४ माघ । विगत लामो समयदेखि सिटामोललगायतका औषधिको अभाव झेलेका गोरखाका स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउन सुरु गरेको छ ।

गत साता पथलैया र बुटवलस्थित स्टोरबाट ल्याएकाऔषधि विभिन्न स्वास्थ्य चौकीको मागअनुसार पठाएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

“सिटामोल, प्यारासिटामोल, मेट्रोनेटाजोल, एमोक्सोसिलिन, रेनिटिडिङ, सिप्रोप्रोसेलिङलगायत औषधि पथलैया र बुटवलस्थित स्टोरबाट जनस्वास्थ्यको स्टोरमा ल्याएका छौँ”, उनले वताए । – “स्वास्थ्य चौकी तथा नगरस्थित स्वास्थ्य केन्द्रले माग गरेअनुसारका औषधि धमाधम पठाएका छौँ ।” औषधिको अभाव झेल्दै आएका विभिन्न २१ वटा स्वास्थ्य संस्थामा औषधि पठाइसकेको जनस्वास्थ्य प्रमुख पराजुलीले बताए ।

गोरखा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र, गाँखु, मकैसिङ, आरुचनौटे, जौवारीलगायत क्षेत्रमा औषधि ढुवानी गरिसकिएको छ भन्दै उनले – “औषधि खरिदको टेन्डर दोहो¥याएर गर्नुपर्दा समयमै औषधि जुटाउन सकेनौँ ।”

खरिद प्रक्रिया झन्झटिलो र लामो भएकाले तत्कालै औषधि खरिद गर्न नसक्दा अभाव झेल्नुपरेको जनस्वास्थ्य प्रमुख पराजुलीको भनाइ छ । जनस्वास्थ्य कार्यालयले रु २५ लाखको औषधि खरिद गर्न दोस्रोपटक टेन्डर गरिसकेको छ ।

सत्तरी प्रतिशत औषधि केन्द्र, १० प्रतिशत क्षेत्र र २० प्रतिशत औषधि जिल्लाले खरिद गर्नुपर्ने नियम छ । केन्द्रले पनि औषधि खरिदमा ढिलाइ गरेकाले जनस्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । “जिल्लामा चाहिने औषधि सबै जनस्वास्थ्य कार्यालयले खरिद गर्ने होइन”, उहाँले भन्नुभयो, “जनस्वास्थ्यले समयमै औषधि नकिन्दा अभाव भो भन्ने बुझाइ गलत हो । केन्द्रले पठाउनुपर्ने ७० प्रतिशत औषधि समयमै पठाउन सकेन ।

जनस्वास्वास्थ्यले अहिलेसम्म सडक पहुँच पुगेका क्षेत्रका स्वास्थ्य चौकीमा मात्रै औषधि पठाएको छ । हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा औषधिको अभाव कायमै रहेको गुनासो आएपनि स्वास्थ्य प्रशासक पराजुलीले सबै स्वास्थ्य चौकीमा औषधिको अभाव नरहेको दाबी गर्दै केही स्वास्थ्य चौकीमा भएको औषधि अभाव समाधान भइसकेको बताए ।