शैक्षिक

‘स्ववियू निर्वाचन अब कसैले कुनै पनि वहानामा रोक्न र छेक्न सक्दैन



 

,भक्तपुरः २० माघ। स्ववियू निर्वाचन कसैले रोकेर रोक्न नसक्ने विद्यार्थी संगठनले बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचारसंहिता लागू गरिसकेकाले निर्वाचन कसैले कुनै पनि बहानामा रोक्न नसक्ने र रोक्न खोजिए ठूला तीन विद्यार्थी संगठन एक भएर त्यसको विरुद्ध सघर्ष गर्न तयार रहेको बताएका हुन् ।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिहीबार विद्यार्थी संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियू निर्वाचनको मिति कुनै पनि हालतमा पर सार्न नसकिने बताए । विद्यार्थी संगठनले निर्वाचनको समयमा एक अर्कामा कुनै पनि किसिमको अवरोध सृर्जना नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियू निर्वाचन कुनै हालतमा फागुन १४ मा हुने बताउँदै आजबाट लागू गरिएको आचारसंहिता लागू गर्न सबै विद्यार्थी संगठन तयार रहेको बताए ।

आचारसंहिता जुन विद्यार्थी संगठनले लागू गर्दैन त्यस्ता विद्यार्थी संगठनलाई क्याम्पस प्रशासन हाताबाट निकाल्न तयार रहेको भनेर हस्ताक्षर गरेकाले उनीहरुलाई कारवार्हीको दायरामा ल्याउनुपर्ने बताए । उनले लामो समयसम्म हुन नसकेको निर्वाचन मिश्रित प्रणाली र उमेर हद् लागू हुनु खुसीको कुरा भएको बताउँदै सबै विद्यार्थी संगठन निर्वाचनको पक्षमा लागीपरेको बताए ।
अनेरास्वीयूकी केन्द्रीय उपाध्यक्ष सुनिता बरालले स्ववियू निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्ने सवालमा अखिल प्रतिबद्ध रहे पनि केहि विद्यार्थी संगठनहरु आफनो पक्षमा माहोल नआउने डरले आत्तिरहेको बताए । उनले तोकिएको समय आगामी १४ फागुनमा निर्वाचन जसरी पनि हुने र अखिलले दुई तिहाई बहुमत ल्याउने दावी गरिन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष डिल्लीराज सुवेदीले स्ववियू निर्वाचन विगत लामो समयदेखि हुन नसकिरहेको अवस्थामा विद्यार्थी संगठन लोकतान्त्रिक माध्यमबाट निर्वाचन गर्न तयार रहेको बताए ।